काठमाडौं । साफ च्याम्पियनसिप २०२१ अन्तर्गत नेपाललाई भारतले हराएको छ । आइतबार राति माल्दिभ्सको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल भारतसङ्ग १-० गोलले पराजित भएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८२ मिनेटमा भारतले गोल गर्यो । सोही गोल निर्णायक बनेको छ । भारतका लागि कप्तान सुनील क्षेत्रीले गोल गरेका थिए। उनले सिक्स यार्ड बक्समा फारूख चौधरीले हेडमार्फत दिएको पास गोल गरेका थिए।
जारी साफमा भारतको यो पहिलो जित हो। यसअघि भारतलाई श्रीलंका र बंगलादेशले बराबरीमा रोकेका थिए।
नेपालको भने यो पहिलो हार हो। यसअघि नेपालले सुरुवाती दुई खेलमा जित हात पारेको थियो। नेपालले पहिलो खेलमा आयोजक माल्दिभ्स र दोस्रो खेलमा श्रीलंकालाई हराएको थियो। साफको अंक तालिकामा माल्दिभ्स ६ अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको नेपालको पनि ६ अंक नै छ। भारत ५ अंक जोडेर तेस्रो स्थानमा छ। चौथो स्थानको बंगलादेशको ४ अंक छ। १ अंक जोडेर पाँचौ स्थानमा रहेको श्रीलंका भने बाहिरिसकेको छ।
अब समूह चरणको अन्तिम दिनको खेलमा नेपाल र बंगलादेश तथा भारत र माल्दिभ्सबीच खेल हुँदैछ।
साफ च्याम्पियनसिप : नेपाललाई भारतले हरायो
