माले । माल्दिभ्सले बंगलादेशलाई हराएसँगै नेपाल जारी साफ च्याम्पियनसिपको अंक तालीकामा शीर्ष स्थानमा कायमै रहन सफल भएको छ । बंगालदेशले जितेको भए नेपाललाई उछिन्ने मौका थियो । लिग चरणको खेलपछि शीर्ष स्थानमा रहने दुई टोलीले फाइनल खेल्ने छन् ।
राष्ट्रिय दिवसकै दिन माल्दिभ्सले साफ च्याम्पियनसिपमा बंगलादेशमाथि बिहीबार राति २–० गोल अन्तरको जित निकालेको हो । माल्दिभ्स पहिलो खेलमा नेपालसँग हारेको थियो । बंगलादेशसँग पनि हारेको भए सो टोली प्रतियोगिताबाट बाहिरिने निश्चित थियो ।
माल्दिभ्सका लागि हाम्जा मोहम्मदले ५५ औं मिनेटमा पहिलो गोल गरे । अलि अस्फाकले पेनाल्टीमार्फत ७४ औं मिनेटमा दोस्रो गोल थपे । बंगलादेशले आफ्नो अन्तिम खेलमा नेपालको सामना गर्नेछ । नेपालले भने अझै दुई खेल खेल्न बाँकि छ । जसमा भारत र बंगलादेश छन् । यसअघिका दुई खेल जितेको नेपाल ६ अंकसहित शीर्ष स्थानमा छ ।