काठमाडौं । साफ महिला च्याम्पियनसिपको सेमिफाइलनमा नेपाल र भारत भिड्ने निश्चित भएको छ । २०१९ मा सेमिफाइनलबाट बाहिरिएको बंगलादेश पाँच पटकको साफ च्याम्पियन भारतलाई हराउँदै समूह एको विजेता बनेको छ । यससँगै सेमिफाइनलमा नेपाल र भारतको भेट पक्का भएको छ । बंगलादेशले सेमिफाइलनमा समूह एको उपविजेता भुटानलाई प्रतिद्वन्द्वी पाएको छ । साफ महिला च्याम्पियनसिपका यसअघिका पाँचै वटा संस्करणमा नेपाल र भारतको भेट भएको छ । चार पटक फाइलनमा र एक पटक सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको थियो ।
जसमा तीन खेलमा नेपालले गोल गर्दै दुई खेलमा नेपालले भारत विरुद्ध गोल गर्न सकेको छैन । पाँच पटक आमने सामने हुँदा भारतले नेपालको पोष्टमा १६ गोल गरेको छ भने नेपालले जम्मा ३ गोल मात्र फर्काएको छ । नेपाल र भारत तथा बंगलादेश र भुटानबीचको सेमिफाइनल खेल शुक्रबार हुने छ । मंगलबारको खेलमा भारतलाई हराउने क्रममा बंगलादेशका जाहान सोप्नाले २ तथा कृष्णरानी सरकारले एक गोल गरिन् । यो साफ इतिहासमा नै भारतको पहिलो हार हो । यसअघि सन् २०१६ मा भारत र बंगलादेशले गोलरहित बराबरी खेलेका थिए । त्यो बाहेक अरु सबै खेल भारतले जितेको थियो ।