साफ यू-१७ :उपाधीका लागि नेपाल र भारत आज भिड्दै

काठमाडौं । श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । कोलम्बोको रेस कोर्स मैदानमा हुने फाइनल खेल राति ८ः१५ बजे सुरु हुनेछ । प्रतियोगितामा नेपाल आफ्नो अपराजित यात्रालाई कायम राख्दै उपाधि जित्ने अभियानमा छ । भारत पनि नेपाललाई हराएर उपाधि रक्षा गर्ने तयारीमा छ । भारत साविक विजेता हो ।

नेपाली टोलीका प्रशिक्षक उर्जन श्रेष्ठले भारतलाई कडा टक्कर दिने योजनामा रहेको बताउँछन् । नेपालले समूह चरणमा भारतलाई ३–१ गोलले हराएको थियो । त्यसैले पनि नेपाल उच्च मनोबल सहित भारतसँग त्यही नतिजा कायम राख्ने दाउमा छ । भारत समूह चरणमा खेपेको हारको बदला लिन चाहन्छ । च्याम्पियनसिपको सेमिफाइनलमा भारतले बंगलादेशलाई २–१ र नेपालले आयोजक श्रीलंकालाई ६–० गोलले पराजित गरेको थियो ।