काठमाडौं । साफ यु २० च्याम्पियनसिपमा नेपालले विजयी शुरुवात गरेको छ । नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरको जित निकाल्दै आफ्नो बलियो उपस्थिति पेश गरेको हो । भारतको भुवनेश्वरस्थित कालिन्दा रंगशालामा सोमबार सम्पन्न खेलमा नेपालले पहिलो हाफमा एक र दोस्रो हाफमा तीन गोल गर्न सफल भयो । नेपालका लागि दिपेश गुरुङ, सुगम सुवाल, कृतिश रत्न छुन्जु र मनग्य नकर्मीले गोल गरे । ४२ औं मिनेटमा दिपेश गुरुङले गोल गरेपछि नेपालले पहिलो हाफमा अग्रता बनाएको थियो ।
दोस्रो हाफको ५८ औं मिनेटमा सुगम र त्यसको चार मिनेट पछि कृतिशले पेनाल्टीमार्फत गोल गरे । माल्दिभ्सका हुुसेन सादिनले कप्तान आयुषलाई बक्सभित्र फल गरेपछि नेपालले पेनाल्टी पाएको हो । इन्जुरी समयको अन्तिम मिनेटमा मनग्य नकर्मीले नेपाललाई ४–० को जित निश्चित गराए । नेपालले प्रतियोगिताको आफ्नो दोस्रो खेल बुधबार श्रीलंकासँग खेल्दैछ ।