सामुहिक बलात्कारको झुटो आरोप लगाउने युवती पक्राउ

काठमाडौं । आर्थिक प्रलोभनमा पारी सामुहिक बलात्कार जस्तो जघन्य अपराधमा फसाउन खोज्ने युवतीलाई प्रहरीले पक्राउ गरेको छ । आफूलाई पाँच जनाले सामूहिक बलात्कार गरेको भन्दै ओखलढुंगाकी एक १७ वर्षिया युवतीले २८ पुसमा ईलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुरमा उजुरी गरेकी थिइन् ।

ओखलढुंगाबाट काठमाडौं जादै गर्दा खुर्कोटमा गाडी बिग्रिएको र बाटोमा ५ जना व्यक्तिले अपहरण गरी रौतहट, चन्द्रनिगाहपुरमा ल्याएर बलात्कार गरेको आरोप उनको थियो । चन्द्रनिगाहपुरको दुई तल्ले एक घरमा आफूलाई बन्धक बनाएर सामूहिक बलात्कार गरेको उनले दिएको उजुरीमा उल्लेख छ ।

त्यसपछि प्रहरीले अनुसन्धान थालेको थियो । प्रहरीसमक्ष उजुरीमा नाम किटान गरिएका आरोपितको मोबाइल लोकेसनका आधारमा उनीहरु घटना भएको भनिएको जिल्लामै नरहेको पाइयो । त्यसपछि प्रहरीले युवतीमासथ नै शंका गरी अनुसन्धान थालेको थियो ।

बलात्कृत भएकी भनिएका युवतीको कुरा शंकास्पद लागेपछि सोधपुछ गर्दा ६ लाख रकम पाउने लोभमा अरुलाई फसाउन खोजिएको खुलेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी भरत श्रेष्ठले बताए । उनका अनुसार गजेन्द्र भन्ने राम विश्वास साहलगायतको योजनामा युवतीले यो नाटक रचेकी थिइन् ।

जग्गासम्बन्धी मुद्दामा विपक्षी रहेका राम निवास साहसहित ५ जनालाई झुठो मुद्दामा फसाए बापत ६ लाख रुपैयाँ नगद र जागिर समेत दिने भन्ने प्रलोभन दिइएको थियो । झुठ्ठा व्यहोरा उल्लेख गरी जाहेरी दिने, कागज र सनाखत गर्ने र बलत्कृत भएको बताउनले दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरुमाथि जबरजस्ती करणीसम्बन्धी कसूरको षड्यन्त्र र आपराधिक लाभ शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको नेपाली संचारमाध्यमले जनाएका छन् ।