काठमाडौं । नेपालमा सार्वजनिक यातायातमा भेहिकल ट्र्याकिङ सिस्टम जडान शुरु गरिएको छ । यातायात व्यवस्था विभागले परीक्षणस्वरूप १७ वटा बसमा यस्तो प्रणाली जडान गरिसकेको जनाएको छ । पहिलो चरणमा एक सयवटा सवारीमा निःशुल्क जडानको योजना विभागको छ । त्यसपछि सबै सार्वजनिक गाडीमा यो प्रणाली जडान गरिने भएको छ । विभागका अनुसार काठमाडौँ–पोखरा, काठमाडौँ–वीरगञ्ज, काठमाडौँ–जनकपुर रुटका सवारीमा जीपीएस सुरु गरिएको छ ।
जीपीएस लागूू गरिएपछि नियन्त्रण कक्षबाट देशभरका सार्वजनिक सवारी व्यवस्थापन र नियमन गर्न सहज हुने छ । विभागका अनुसार ८० प्रतिशत सवारी दुर्घटना उच्च गतिमा सवारी चलाएका कारण हुन्छन् । राजमार्गमा तोकिएभन्दा उच्च गतिमा दौडने प्रवृत्तिलाई जीपीएस सिस्टमले नियमन गर्ने हुँदा सवारी दुर्घटना कम हुने विभागको भनाई छ । जीपीएसमार्फत गाडीको रुट, गतिलगायतका जानकारी ट्राफिक प्रहरीलाई अनलाइनमै उपलब्ध हुनेछ ।
गाडीको गति र स्थानको जानकारी हुनेछ । साथै सार्वजनिक यातायातका विकृति र आपराधिक घटना नियन्त्रण गर्न समेत सहयोग हुने विभागले बताएको छ । विश्व बैङ्कको सहयोगमा पाइलट परियोजनाका रूपमा जीपीएस जडान गरिन लागेको हो । सार्वजनिक यातायातमा जीपीएस जडान गरिसकेपछि सरकारी गाडीहरूमा गरिने विभागको योजना छ ।