काठमाडौं । सरकारले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी मानिस भेला हुन नपाउने गरि निर्णय गरेको छ । कोरोना संक्रमण फैलिएसँगै गृह मन्त्रालयले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुनबाट रोक्ने निर्णय गरेको हो । सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै सार्वजनिक स्थलमा भीड हुने कार्यक्रम गर्नमा गृह मन्त्रालयले रोक लगाएको हो । सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवं त्यही प्रकृतिको कार्यक्रम नगर्न आह्वान गर्ने निर्णय लिइएको छ ।
अत्यावश्यक नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर गर्न पाइने छ । अर्को सूचना नभएसम्म सार्वजनिक स्थलहरूमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सवहरू आयोजना गर्न पाइने छैन । गृह मन्त्रालयले मातहतका सुरक्षा निकाय र प्रशासन कार्यालयलाई उक्त निर्णय कार्यान्वयन गर्नका लागि निर्देशन पनि दिएको छ ।