काठमाडौं । नेपालमा लगानीको अवसर र सम्भावनाबारे अध्ययन गर्न सिंगापुरका युवा उद्यमीहरूको टोली काठमाडौं आएको छ। योङ प्रेजिडेन्ट अर्गनाइजेसन ९वाइपिओ०, सिंगापुर शाखाका तर्फबाट पहिलोपटक नेपाल भ्रमणमा आएको टोलीमा सिंगापुरका ४० जना युवा लगानीकर्ता तथा प्रमुख कार्यकारी सामेल छन्। उनीहरू आइतबारसम्म यहाँ बस्ने छन्।
टोलीमा सिंगापुरको उड्डयन, वित्तीय, प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्स, हस्पिट्यालिटी, खानी लगायत क्षेत्रमा काम गरिरहेका युवा उद्यमी सहभागी छन्। नेपालमा पूर्वाधार र उत्पादनमूलक क्षेत्रमा विदेशी लगानीको ठूलो सम्भावना रहेकाले त्यसबारे जानकारी लिन काठमाडौं आएको उनीहरूले बताएका छन्।
भ्रमणको पहिलो दिन शुक्रबार नेपालका एक मात्र डलर अर्बपति तथा प्रतिनिधिसभा सदस्य विनोद चौधरीले उक्त प्रतिनिधिमण्डललाई सम्बोधन गर्दै नेपालको लगानी सम्भाव्यताबारे जानकारी दिए। नेपालमा भएका आर्थिक सम्भाव्यता पूर्ण सदुपयोग हुने हो भने एसियाकै धनी मुलुक बन्ने क्षमता रहेको उनले बताए। ुनेपाल स्रोत(साधनमा अत्यन्तै धनी छ। तर स्रोत हुनु मात्र ठूलो कुरा होइन, व्यवस्थापन पनि राम्रो हुनुपर्छ,ु उनले भने, ुव्यवस्थापनमा समस्या हुनुले नै नेपाल गरिब भएको हो।ु
विकास योजनालाई आफ्नो एजेन्डा बनाएर हिँड्ने दुरदर्शी नेता नभएकाले नेपाल पछि परेको उनको भनाइ थियो। ‘स्रोतको उचित व्यवस्थापनका लागि हामीलाई एक भिजनरी नेताको खाँचो छ। देशको योजनाबद्ध विकासमा नीतिगत योगदान गर्ने उद्देश्यले नै म राजनीतिमा सक्रिय भएको हुँ’ उनले भने।
संसारकै दुई ठूला बजार भारत र चीनसँग नेपालको निकट सम्बन्धले पनि यहाँ तुलनात्मक लाभ धेरै भएको चौधरीले बताए। उनले सिंगापुरको उदाहरण दिँदै अगाडि भने, ‘ली क्वान यूको योजनाले सिंगापुर संसारकै धनी मुलुकको सूचीमा पुग्यो।
दक्षिण कोरिया पनि पार्क चुङ हिको भिजनले धनी बन्यो। यी दुवै देश प्राकृतिक स्रोत(साधनमा कमजोर छन्। तैपनि एउटा नेताको दुरदर्शी सोचले दुवै मुलुकलाई समृद्ध बनाएको छ। हामी त स्रोत-साधनमा धनी छौं। त्यसैले हामीसँग समृद्ध हुने सम्भावना अझ धेरै छ।’
कुनै पनि उद्यमीले आफ्नो व्यावसायिक सफलता र प्रतिफल सँगसँगै सामाजिक उत्तरदायित्व पनि भुल्न नहुने उनले बताए। सन् १९५० मा स्थापना भएको वाइपिओ संसारभरका ३० हजारभन्दा बढी सिइओहरूको संस्था हो। यसको मुख्यालय अमेरिकामा छ भने नेपाल लगायत १ सय ४२ मुलुकमा यसको सञ्जाल फैलिएको छ।