काठमाडौं । आइतबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपालमा रहेका मन्त्रीहरुबीच भिडियो कन्फ्रेन्समा कुराकानी भएको छ ।
प्रधानमन्त्री उपचारका लागि सिंगापुर गएपछि दोस्रो पटक यस्तो कुराकानी भएको हो । पहिलो पटक भएको भिडियो कन्फ्रेन्स निकै विवादित बन्न पुगेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त भिडियो कन्फ्रेन्सलाई मन्त्रीपरिषद् बैठक भनि टुइट गरेपछि त्यस बैठकको बैधानिकता माथि नै प्रश्न उठेको थियो ।
किनकी कानून अनुसार प्रधानमन्त्री देश बाहिर रहँदा कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्रीलाई दिइएको हुन्छ ।
यस्तो अवस्थामा प्रधानमन्त्रीले भिडियोका माध्यमबाट मन्त्रीहरुसँग गरिएको कुराकानीको विषयलाई लिएर ठूलो विवाद भइरहेको छ ।
आइतबार पनि प्रधानमन्त्रीले मन्त्रीपरिषद्का सबै सदस्यसँग सामूहिक रुपमा भिडियोमा कुराकानी गरेका छन् ।
कुराकानीका क्रममा समसामयीक विषयवस्तुबारे प्रधानमन्त्रीले मन्त्रीबाट जानकारी लिएको बताइएको छ ।
प्रधानमन्त्रीले सुर्खेतमा गाईगोरुलाई भीरबाड लडाएर मारिएको घटनालाई गम्भीर रुपमा लिएको बताइएको छ ।
प्रधानमन्त्रीको चासोपछि गृहमन्त्री रामबहादुर थापा बादलले छानविन समिति गठन गरी घटनबारे छानविन भइरहेको प्रधानमन्त्रीलाई अपडेट गराएका थिए ।
चिनियाँ ह्याकरले एटीएमबाट पैसा चोरेको घटनाबारे पनि उनले प्रधानमन्त्रीलाई जानकारी गराएका छन् ।