सिंगापुरमा एक मलेसियन नागरिकलाई दिइयो मृत्युदण्ड

सिंगापुर । सिंगापुरले तिब्र विरोधका बीच एक मलेसियन नागरिकलाई मृत्युदण्ड दिएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार लागुऔषध हेरोइन तस्करी गरेको अभियोग उनीमाथि रहेको थियो । उनी १३ वर्षदेखि जेलमा थिए । समाचार संस्था रोयटर्सका अनुसार ३४ वर्षका नागेनथ्रन धर्मलिंगमलाई बुधबार बिहान मृत्युदण्ड दिइएको छ । उनका भाइ नवीन कुमारका अनुसार धर्मलिंगमको शव मलेसिया पठाउन लागिएको छ।

धर्मलिंगम सन् २००९ मा पक्राउ परेका हुन् । साढे एक औंस अर्थात् ४२ ग्रामभन्दा बढी हेरोइन तिघ्रामा बाँधेर मलेसियाबाट सिंगापुर प्रवेश गर्न खोजेको अवस्थामा उनी पक्राउ परेका हुन् । धर्मलिंगमका वकिलहरूले उनको बौद्धिक क्षमता कमजोर भएको भन्दै मृत्युदण्ड नदिन दर्जनौं निवेदन दिएका थिए। धर्मलिंगमलाई मृत्युदण्ड नदिन संसारभरिबाट हस्ताक्षर संकलन गरिएको थियो।

मृत्युदण्ड नदिन उनकी आमाले दिएको निवेदन सिंगापुरको अदालतले खारेज गरिदिएपछि धर्मलिंगमलाई मृत्युदण्ड दिइएको समाचारमा जनाइएको छ । त्यहाँको कानुनअनुसार हुलदंगा गर्ने र लागुपदार्थ ओसारपसार गर्नेलाई मृत्युदण्ड दिइन्छ। लागुपदार्थको मामिलामा सिंगापुरको कानुन एकदमै कडा छ।

थोरैभन्दा थोरै परिमाणको लागुपदार्थ फेला परे पनि कुनै सहानुभूति राखिँदैन। कानुनअनुसार मृत्युदण्ड दिइन्छ। सिंगापुरले पछिल्लोचोटि सन् २०१९ मा मृत्युदण्ड दिएको थियो। त्यति बेला चार जनाले फाँसीको सजाय पाएका थिए। उनीसँग बरामद भएको ४२ ग्रामभन्दा बढी हेरोइन ५१० जना प्रयोगकर्तालाई करिब एक साता आपूर्ति गर्न पुग्ने प्रहरीले जनाएको छ।