सिड्नी । अस्ट्रेलियाको सबैभन्दा ठूलो सहर सिड्नीमा बाढीका कारण ५० हजार मानिसलाई सुरक्षित स्थानमा सर्न सूचित गरिएको छ। सिड्नीको केही भागमा चार दिनमा झन्डै आठ महिनामा हुने वर्षा भएको बीबीसीले लेखेको छ । बाढीका कारण त्यहाँ सडक अवरुद्ध भएको छ भने केही घरहरू पानीमा डुबेका छन्। आपूर्ति बन्द हुँदा हजारौँ मानिसले बिजुली प्रयोग गर्न पाएका छैनन्। ला निना मौसमी प्रणालीका कारण ठूलो वर्षा भएपछि आएको बाढीका कारण यो वर्ष २० जनाभन्दा बढीको मृत्यु भइसकेको छ।
तीमध्ये अधिकांश मानिस न्यू साउथ वेल्सका छन्। ग्रेटर सिड्नी भनिने तीन ठूला सहर भएको भूभागमा अहिलेको आपत्कालीन अवस्थामा १०० वटाभन्दा बढी स्थानान्तरणको निर्देशन जारी गरिएको छ। थुप्रै ठूला नदीमा बाढी आएपछि अन्य ५० क्षेत्रमा बसोबास गर्ने मानिसलाई पनि स्थानान्तरणका लागि तयारी अवस्थामा रहन सूचित गरिएको छ। चरम मौसमका कारण निकट क्षेत्रहरू हन्टर र इलावारा पनि प्रभावित भएका छन्। न्यू साउथ वेल्सका केही क्षेत्रमा चार दिनमा ८०० मिलिमिटर वर्षा भएको छ। मौसम हेर्ने निकायका अनुसार उक्त परिमाण ग्रेटर लन्डनमा एक वर्षमा हुने औसत वर्षाभन्दा झन्डै एकतिहाई बढी हो।
सिड्नीमा मङ्गलवारबाट मुसलधारे वर्षा सुरु हुने अपेक्षा गरिएको छ। साथै आँधीबेहरीको पनि पूर्वानुमान गरिएको छ। आँधी आउँदा रूख ढल्ने र विद्युत् आपूर्ति बिग्रिने सम्भावना हुन्छ। अधिकारीहरूले स्थानीयवासीलाई जोखिम भएका ठाउँ छाड्ने दिइएको सुझावप्रति ध्यान दिन आग्रह गरेका छन्। जोखिम भएका स्थल छोड्ने आदेश दिइएका मानिसलाई अन्यन्त्र जान सघाउन उद्धारकर्ताहरूलाई दुई दिनअघि नै बोलाइएको थियो।