सिन्धुपाल्चोकका दुई वस्ती स्थानान्तरण गर्न सिफारिस

सिन्धुपाल्चोक । विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा भएका सिन्धुपाल्चोकका दुई वस्ती स्थानान्तरण गर्न विज्ञले सिफारिस गरेका छन् । जिल्लाको जुगल गाउँपालिकाका लिदीलगायत जोखिममा रहेका दुई बस्ती स्थानान्तरण गर्न विज्ञ समूहको टोलीले सिफारिश गरेको हो । गत असार र साउनमा गएको भीषण पहिराले लिदीमा ३९ जनाको मृत्यु भएको थियो ।

सरकारले सो क्षेत्रलाई आधार बनाएर त्यस आसपासका जोखिमयुक्त बस्तीको भौगर्भिक अध्ययन गर्न विज्ञको टोली खटाएको थियो । एक महिना अघिबाट फिल्डमा खटिएको टोलीले उक्त सिफारिस गरेको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका विज्ञको टोलीले एक सातासम्म जुगलका चार जोखिम बस्तीको स्थलगत अध्ययन समेत गरेको थियो ।

टोलीमा प्राधिकरणका तर्फबाट सहभागी जिल्ला आयोजना कार्यान्वयन एकाइ(भवन)का प्रमुख सन्तोष निरौलाले अध्ययन गरिएका बस्तीमध्ये दुई बस्ती उच्च जोखिममा रहेको निष्कर्ष निकालिएको बताए ।

टोलीले जुगलका लिदी, बोल्दे, ठूलो नाम्फा, सानो नाम्फा र सञ्चगाउँको अध्ययन गरेको थियो । सरकारले सिन्धुपाल्चोक र बागलुङ जिल्लालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको हो । गत असारयता जिल्लाका विपद्का घटनामा ७३ ले ज्यान गुमाएका थिए । ३९ जना अझै बेपत्ता रहेका छन् ।