सिन्धुपाल्चोकमा आजबाट भौगर्भिक अध्ययन गरिदै

काठमाडौं । सिन्धुपाल्चोकमा आजबाट भौगर्भिक अध्ययनको काम शुरु हुने भएको छ । नेपालको राष्ट्रिय समाचार समितिका अनुसार सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको सिन्धुपाल्चोक जिल्लामा जोखिमयुक्त बस्तीहरूको भौगर्भिक अध्ययन गर्न थालिएको हो ।

सुरूमा जुगल गाउँपलिकाको लिदी, नाम्फा, सञ्चगाउँ, बोल्दे र लिदीका विस्थापितहरूले बसोबास गरिरहेका बाँसखर्कको भौगर्भिक अध्ययन हुने भएको छ । जिल्ला आयोजना कार्यन्वयन एकाइ (भवन) सिन्धुपाल्चोकका प्रमुख इन्जिनीयर सन्तोष निरौलाले यसको जानकारी गराएका छन् ।

गत साउन ३० गते ३९ जनाको ज्यान जानेगरी पहिरो गएको जुगल गाउँपालिकाको लिदी र सो स्थानबाट अस्थायी स्थानान्तरण गरिएको जुगल गाउँपालिकाकै बाँसखर्क लगायतका स्थानहरूको पहिलो चरणमा विस्तृत भौगर्भिक अध्ययन गर्न विशेषज्ञसहितको टोलीले आजदेखि काम सुरू गर्ने भएको छ ।

सिन्धुपाल्चोकमा यस वर्ष लगातारको विपत्तिपछि सभामुख अग्निप्रसाद सापकोटाले जिल्लालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरी आवश्यक पहल लिने विषयमा समन्वय गरेको राससले लेखेको छ ।


सिन्धुपाल्चोकको भौगर्भिक अध्ययन गर्न जाने टोलीले सुरूमा जिल्ला समन्वय समितिका प्रमुख र प्रमुख जिल्ला अधिकारीलगायत सँग चौतारामा छलफल गर्ने र त्यसपछि जुगल गाउँपालिकामा बैठक गर्नेछ । जिल्लाको पहिरोग्रस्त क्षेत्र बाह्रविसेको खागदल, जम्बु र नागपुजे, भोटेकोशी र मेलम्ची क्षेत्रको समेत क्रमशः अध्ययन हुने भएको छ ।