बाह्रबिसे । सिन्धुपाल्चोकमा पुनः विनासकारी पहिरो गएको छ । जिल्लाको बाह्रविसे नगरपालिका–७ घुम्थाङको नागपुचे र भीरखर्क भन्ने स्थानमा गएराति गएको पहिरोमा परी कम्तीमा दुई जनाले ज्यान गुमाएका छन् । अन्य २२ जना मानिस बेपत्ता रहेको प्रहरीको अनुमान छ । यद्दपी यकिन विवरण आउन बाँकि रहेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार नागपुचेमा कम्तिमा ७ वटा घर पुरिएको खबर आएको छ । यहाँ १ जनाको शव फेला परेको छ । १६ जना बेपत्ता छन्। यो स्थानमा ६० वर्षीया भक्तिमया श्रेष्ठको शव भेटिएको हो । भीरखर्कमा २ घर वटा पुरिएको अनुमान छ । यहाँ २२ वर्षीया जुनु विकको शव भेटिएको छ। यो स्थानमा ६ जना बेपत्ता भएका छन् ।
आज बिहान पहिरोका खबर आएसँगै सभामुख अग्नी प्रसाद सापकोटा गृह जिल्लातर्फ लागेका छन् । अहिले स्थानिय र प्रहरी उद्धारमा खटिएका छन् । सिन्धुपाल्चोक जिल्लामा मात्र यो वर्ष ठूलो मानवीय क्षति पहिरोकै कारण भइसकेको छ ।