सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा बाढी र पहिरोको वितण्डा, दर्जनौं वेपत्ता भएको आशंका

File

मेलम्ची । सिन्धुपाल्चोक जिल्ला पुनः एक पटक प्राकृतिक विपत्तीको चपेटामा परेको छ । मंगलबार साँझबाट बाढी र पहिरोले जिल्लाको हेलम्बु तथा मेलम्ची क्षेत्र डुबानमा परेको हो । डुबानका कारण ५० औं जना मानिस वेपत्ता भएको स्वास्थ्य मन्त्री शेर बहादुर तामांगले सामाजिक संजालमा लेखेका छन् । यद्दपी प्रहरीले वेपत्ता हुनेको यकिन संख्या सार्वजनिक गरेको छैन । बाढीले मेलम्चीको ढ्याममा समेत क्षति गरेको छ ।

तिम्बु बजार, चनौटे बजार, तालामारांग बजार, चेलम्बी बजार, यांग्री क्षेत्र क्षतविक्षत भएको छ । त्यहाको नोकोते पुल, तिम्बु पुल, फट्टे पुल, मेलम्ची पुल र बाहुनेपाटी पुल बगाएको मन्त्री तामांगले जनाएका छन् । नदी किनारमा अर्बौं रुपैयाँको भौतिक क्षति भएको र कृषियोग्य जमिन समेत बगरमा परिणत भएको स्थानीयले जानकारी गराएका छन् ।

अहिले वेपत्ता भएकाको खोजीमा प्रहरी र स्थानीय लागेका छन् । पुल बगाउँदा बजार क्षेत्रसम्म पुग्न भने कठिन भएको बताइएको छ । गत वर्षको मनसुनमा समेत सिन्धुपाल्चोकमा सयौं मानिसले पहिरोमा परि ज्यान गुमाउनु परेको थियो ।