सिन्धुपाल्चोक पहिरो अपडेट : ११ को शव फेला

सिन्धुपाल्चोक । ३८ जना पुरिने गरी गएको भीषण पहिरोमा परी ज्यान गुमाएका ११ जनाको शव फेला परेको छ । शुक्रबार बिहान जुगल गाउँपालिका २ लिदीमा गएको पहिरोमा ३८ जना मानिस पुरिएका थिए। त्यसमध्ये ११ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जानकारी गराएको छ । अन्यको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी गराएको छ ।

पहिरोमा परेका पाँच जनाको भने उद्धार गरिएको थियो । घाइतेहरुको हेलिकप्टरमार्फत् उद्धार गरिएको थियो । उनीहरुको चौतारा र काठमाडौंमा उपचार भइरहेको छ । एक जनालाई काठमाडौं लगिएको हो । घाइते हुनेमा ९ वर्षीय रूप बहादुर दोङ, २३ वर्षीय पासाङ दोङ, ६० वर्षीया केवारिङ दोङ र ४३ वर्षीया जुनु दोङ छन्। उनीहरूलाई चौतारामा लगिएको छ।

हेलिकप्टरबाट घाइते ४५ वर्षीया यामुलामु दोङलाई काठमाडौंको सिभिल अस्पतालमा लगिएको छ। शुक्रबार पहिरो पिडितलाई भेट्न सभामुख अग्नी सापकोटा र गृहमन्त्री राम बहादुर थापा हेलिकोप्टरमा पुगेका थिए ।