बाह्रबिसे । सिन्धुपाल्चोकमा शनिबार दोहोरिएको प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । रातमा गएको पहिरोमा परेर हराइरहेकाको खोजी शनिबार दिउँसो जारी रह्यो । यस क्रममा थप दुई जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार पहिरोमा अझै २० जना हराइरहेको पाइएको छ ।
गत राती आएको पहिरोले बाह्रबीसे नगरपालिका ७ को भीरखर्कका १० र नागपूजे गाउँका सात घर पुरिएका हुन् । शनिबार शव भेटिनेमा ९८ वर्षीया ट्याक्सी शेर्पा, ६२ वर्षीया भक्तिमाया श्रेष्ठ, २३ वर्षीया जुनु विक, २४ वर्षीय सुकलाल विक, आठ वर्षीय सन्देश विक, ६० वर्षीया सर्किनी नेवार र ६५ वर्षीय धनलाल विक रहेको प्रहरीले जनाएको छ ।
साथै ६० वर्षीया हिरामाया नेवार, ४२ वर्षीया ज्ञानीमाया प्रधान, २५ वर्षीय कर्णबहादुर श्रेष्ठ र पाँच वर्षीया सरस्वती विकको समेत फेला परेको छ । आज स्थानीय र सुरक्षाकर्मीले दिनभर खोजी जारी राखेका थिए । यो वर्ष पहिरोले सिन्धुपाल्चोक जिल्लामा ठूलो मानवीय क्षति निम्तिाएको छ ।