काठमाडौं । भूकम्पले थिल्थिलो भएको सिन्धुपाल्चोक जिल्लाको जुगल गाउपालिका स्थित लिदी तल एक जलविद्युत आयोजनाले सुरुंग बनाइरहेको छ । यसले कुनै पनि बेला ठूलो जोखिम निम्तन सक्ने भन्दै स्थानीयले यस अगाडी नै सरकारको ध्यानाकर्षण गराएका थिए । तर, शुक्रबार गएको पहिरोमा ११ जनाको मत्यु भइसकेको छ । अझै २७ जना वेपत्ता छन् । ठूलो वर्षा भएपछि पहिरोको डर गाउँलेलाई थियो ।
सोहीकारण उनीहरु रातभर बारीको पाटामा बसेका थिए । बिहानीपख अब पहिरो नआउने अनुमानसहित सुत्न गएका उनीहरुलाई सोही समय पहिरोले घरसँगै बगाएको हो । शुक्रबार सभामुख अग्नी प्रसाद सापकोटा र गृहमन्त्री रामबहादुर थापा घटनास्थलमा पुगेका थिए । स्थलगत अनुगमन पछि भने गृहमन्त्री रामबहादुर थापा बादलले जुगल गाउँपालिकास्थित लिदीको बस्ती स्थानान्तरण गरी उचित स्थानमा बासस्थानको व्यवस्था मिलाउने आश्वासन दिएका छन् ।
पूर्वसावधानी अपनाइएका कारण क्षति कम भएको उल्लेख गर्दै सरकारले उद्धार र राहतलाई तिब्रता दिने बताए । उनले पुनःनिर्माणको काम पनि छिट्टै अगाडी बढ्ने बताएका छन् । घटनास्थलमा बेपत्ताको खोज तथा उद्धार पहिलो प्राथमिकतामा रहेको गृहमन्त्रीको भनाई छ । त्यसका लागि सुरक्षाकर्मी खटिएको जानकारी उनले गराए ।
गृहमन्त्री थापासँगै ४० परिवारका लागि पुग्ने राहत सामग्री पनि शुक्रबार नै घटनास्थलमा पुर्याइएको छ । मन्त्रालयका अनुसार ४० थान चाइनिज पाल, ४० वटा त्रिपाल सेट, ४० सेट भाँडा वर्तन, ४० वटा ब्ल्याकेट, ४० म्याट्रेस, ४० बाल्टिन, ४० जग, ५० प्लाष्टिकको ग्यालिन ६० थान पञ्जा लगिएको त्यहाँ पुर्याइएको हो । मन्त्री थापाले तत्कालीन राहत सामग्रीका लागि सरकारको तर्फबाट दुई लाख रुपैयाँ पनि हस्तान्तरण गरेका छन् ।