१२ साउन, काठमाडौं । सिन्धुलीमा भैँसीको मासु प्रशोधन गर्ने उद्योग खुल्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल मार्फत यसबारे जानकारी दिएका हुन् । उनका अनुसार उद्योग विभागबाट उक्त उद्योग स्थापना गर्न २० अर्ब रुपैयाँ लगानीको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृत भएको छ ।
चीनको सिचुवान प्रान्तस्थित छेन्दु जियान फुड कम्पनीले मरिण गाउँपालिका–४ सिन्धुलीमा उक्त उद्योग स्थापनाको प्रस्ताव गरेको हो । उद्योगले वार्षिक २ लाख टन मासु र ५५ हजार टन सहायक उत्पादन (छाला, भित्री अंग, टाउको उत्पादन) गर्ने लक्ष्य राखेको प्रधानमन्त्री ओलीले जनाएका छन् ।
यो उद्योगले ५ हजार १ सय ५६ जनालाई रोजगारी दिने भएको छ । उद्योगबाट वार्षिक डेढ खर्ब रुपैयाँको मासु चीन निर्यात हुनेसमेत प्रधानमन्त्रीले जानकारी दिएका छन् ।