सुकीमाथि म्यानमारी सेनाले लगायो घुस लिएको आरोप

काठमाडौं । म्यानमारी सेनाले प्रजातन्त्रवादी नेतृ आङ सान सुकीमाथि घुस लिएको आरोपमा मुद्दा चलाउने तयारी गरेको छ । बीबीसीका अनुसार उनीमाथि सेनाले ६ लाख अमेरिकी डलर बराबरको रकम र सुन अवैध रुपमा लिएको आरोप लगाएको छ । फेब्रुअरी १ मा सेनाले त्यहाँको सरकारलाई अपदस्त गरी सत्ता हातमा लिएको थियो । यो सुकीमाथि लगाइएको सबैभन्दा ठूलो आरोप हो ।

तर सेनाले यसको प्रमाण भने सार्वजनिक नगरेको बीबीसीले लेखेको छ । सेनाले म्यानमारमा कू गरेसँगै सुकीलाई हिरासतमा समेत लिएको छ । यस मुलुकमा अहिले प्रजातन्त्रको पुनर्बहाली माग गरी दिनदिनै प्रदर्शन भइरहेका छन् । पछिल्लो समय प्रदर्शन हिंसात्मक समेत बनेको छ ।

आज मात्र सुरक्षाकर्मीको गोली लागेर मियाइङ सहरमा ६ र यान्गोनको नर्थ डागोन जिल्लामा एक प्रदर्शनकारीको ज्यान गएको समेत त्यहाँका संचारमाध्यमले जनाएका छन् । सेनाविरुद्धको प्रदर्शनमा अहिलेसम्म ६० जनाभन्दा धेरैको ज्यान गइसकेको छ ।