काठमाडौं । काठमाडौं महानगरपालिकाले बागमती नदी किनारमा रहेका अवैध संरचना तथा बस्ती हटाउनेबारे संघीय सरकारको साथ मागेको छ । सोमबार थापाथलीमा झडप भएको थियो । सो क्रममा महानगरका प्रहरीहरु घाइते भएका छन् । केही मानिसहरुले मेयर बालेन्द्र साहलाई ज्यान मार्ने धम्की समेत दिएका थिए । सो भिडियो सामाजिक सञ्जालमा राख्दै बालेनले संघीय सरकारको साथ मागेका हुन् ।
सोमबारको घटनापछि सोमबार नै बेलुका मेयर शाहले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर यसबारेमा छलफल समेत गरेको बताइएको छ । थापाथली बस्तीमा महानगर तथा अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले संरचना हटाउन खोजेका थिएइ । त्यसपछि तनाव सुरु भएको थियो । महानगरको नगर प्रहरी र डोजरले बस्ती हटाउन खोजेपछि सुकुम्बासीले घरेलु हतियारसहित ढुङ्गामुढा समेत गरेका थिए ।
सुकुम्बासी बाग्मती बस्तीका बासिन्दा रातभर पनि जाग्राम बसेका छन् । यसअघि बाग्मती सभ्यता एकीकृत विकास समितिले बाग्मती सुकुम्बासी बस्ती हटाउन कात्तिक २४ गते सूचना निकालेको थियो । तोकिएको समय १० दिनभित्र स्थानीयले अवैध संरचना नहटाएपछि महानगर प्रहरी डोजरसहित सुकुम्बासी बस्तीमा पुगेको थियो ।