जुबा\सुडान । सुडानमा शान्ती सम्झौता भएको छ । वर्षौ लामो युद्ध अन्त्य गर्दै शान्ती स्थापना गर्ने सहमतिमा सरकार तथा विद्रोही समूहबीच शनिबार हस्ताक्षर भएको हो । सुडानमा लामो समयदेखिको युद्धले लाखौं निर्दोष मानिसको ज्यान गएको छ ।
तर, शनिबारको ऐतिहासिक शान्ती सम्झौताले अफ्रिकी मुलुक सुडानमा शान्ती स्थापना हुने अनुमान गरिएको छ । सरकार र विद्रोहीबीच करिब एक वर्षदेखि शान्तिका लागि विभिन्न चरणमा वार्ता भएका थिए ।
यो बीचमा हिंसा केही मत्थर भएपनि रोकिएको भने थिएन । सम्झौताका लागि विद्रोही र सरकारी प्रतिनिधि दक्षिणी सुडानको राजधानी जुबामा भेला भई सम्झौतामा हस्ताक्षर गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
सुडानमा लामो समयदेखि शासन गर्दै आएका आमार अल–बसीरलाई पदबाट हटाएपछि विगत एक वर्षदेखि संक्रमणकालीन सरकार चलिरहेको छ । उक्त सरकारको प्रमुख कार्य विद्रोहीलाई राजनीतिको मुख्य धारमा ल्याई द्वन्द्वको अन्त्यका लागि सम्झौता गर्नु थियो ।
जसमा सरकार सफल भएको छ । सुडानको तर्फबाट अर्धसैनिक लडाकू मोहम्मद हमदान डाग्लो र सुडानी क्रान्तिकारी मोर्चा (एसआरएफ) का वार्ता प्रमुखले सम्झौतामा हस्ताक्षर गरेका छन् । चाड, कतार, इजिप्ट, अफ्रिकी संघ, यूरोपेली संघ, तथा संयुक्त राष्ट्रसंघलाई सम्झौताको साक्षी बनाइएको छ ।