काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले अहिलेसम्मकै महँगोको रेकर्ड बनाएको छ । बिहीबार छापावाल सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख १३ हजार ७०० रुपैयाँ पुग्दै नयाँ रेकर्ड बनाएको हो ।
नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै धेरै हो । यसअघि गत साउन ४ गते इतिहासकै उच्च प्रतितोला १ लाख १३ हजार ६०० रुपैयाँ पुगेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपाली बजारमा पनि आकाशिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १३ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।
असोज पहिलो सातादेखि सुनको भाउ लगातार घटेर प्रतितोला १ लाख ६ हजार रुपैयाँसम्म झरेको थियो । जुन गत वैशाख यताकै सस्तो हो । तर, असोज तेस्रो साताबाट फेरि उकालो लागेको सुनको मूल्यले चाडवाडको सिजनमा नयाँ रेकर्ड कायम गरेको हो ।
दसैं, तिहार जस्ता चाडवाडको बेलामा सुनको धेरै माग र खपत हुने गरेको छ । त्यस्तै, आज चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले घटेर प्रतितोला प्रतितोला १ हजार ३९५ रुपैयाँमा किनबेच भइरहेको छ ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १ हजार ९२६.८४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।