सुनसरीको सीमा क्षेत्रमा प्रहरीले गोली चलायो, दुई भारतीय तस्कर घाइते

फाइल तस्वीर

सुनसरी । सुनसरीको सीमा क्षेत्र देवानगन्ज गाउँपालिका–३ स्थित पानी ट्याङ्की नजिकै आजराती प्रहरी र तस्कर समूहबीच गोनी हानाहान भएको छ । घटनामा दुई जना भारतीय तस्कर घाइते भएको प्रहरीले जनाएको छ । तीन जना तस्कर भने फरार छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार देवानगन्ज–२ का राजेश यादव र ३ का पिन्टु यादवलाई घाइते अवस्थामा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहको छ ।

भारतीय क्षेत्रबाट बिआर ३८ भि ३५२८ नम्बरको मोटरसाइकल र वनटेष्ट होण्डा साइन १२५ सिसिको मोटरसाइकल चढेर उनीहरु नेपालतर्फ छिर्न खोजेका थिए । नेपालमा अहिले सिमानाकाबाट निर्वाध छिर्न प्रतिवन्ध छ । भारतीय क्षेत्रबाट आएका तस्करलाई गोप्य सूचनाको अधारमा जेकजाँच गर्ने क्रममा प्रहरी र तस्कर समूहबीच गोली हानाहान भएको हो । उनीहरु हतियारसहित आएको खबर प्रहरीले पाएको थियो ।

प्रहरीले हतियार खोस्न थालेपछि प्रहरीमाथि भारतीय समूहले गोली चलाएको प्रहरीको दावी छ । तस्कर समुहबाट प्रहरीले एउटा पेस्तोल, छ राउण्ड गोली र दुई वटा म्याग्जिन बरामद गरेको जानकारी दिएको छ । घाइते भएका र फरार भएका मानिसहरु तस्करी, लागुऔषध कारोवार, हतियारको तस्करी, चोरीलगायत कार्यमा संलग्न रहेको प्रहरीको भनाई छ । सीमावर्ती क्षेत्रमा लकडाउनयता पटक पटक नेपाल र भारतीय हतियारधारी समूहबीच गोली हानाहान भइसकेको छ ।