सुनसान बन्यो कीभ, निरन्तर सुनिँदै बम आक्रमणको आवाज

काठमाडौं । रूसले यूक्रेनकाे राजधानी कीभ कब्जाकाे अन्तिम तयारी गरिरहेकाे छ । जसका लागि उसले चाैतर्फी घेराबन्दी गर्दै आक्रमण जारी राखेकाे छ । नागरिकलाई कीभ छाड्न भनेकाे रूसले आवासीय भवनमा समेत आक्रमण गर्न थालेकाे छ ।

बीबीसीका युक्रेन सम्वाददाता जेम्स वाटरहाउसका अनुसार किभ बुधबार चराहरूको चिरबिर सुनिने गरी सुनसान बनेकाे छ । तर, सहरको उत्तर-पश्चिमी क्षेत्रमा केही दिनदेखि निरन्तर सुनिँदै आएको बम आक्रमणको आवाज आज पनि उस्तै रहेकाे उनले बताएका छन् ।

रुसी फौज उक्त क्षेत्रबाट किएभको भित्री क्षेत्रतर्फ अघि बढ्न खोजिरहेको आकंलन गरिएको छ। रूसले बिहानै सिभचेन्को जिल्लाको १२ तल्ले आवासीय घरमा हमला गरेकाे थियाे ।

मंगलबार बिहान सहरमा गुड्दा सिधा क्षेप्यास्त्र प्रहारबाट वा आकाशमा क्षेप्यास्त्र नष्ट गरिँदा सहरमा क्षति पुगेको देखिएको थियाे । समाचार एजेन्सीका अनुसार मेट्रो स्टेसनमा बम हानिएको, अग्ला घरहरूको अग्र भाग विस्फोटमा परेको र झ्यालहरू धुजाधुजा भएको देखिन्छ।

आगामी दुई दिन अझै भीषण लडाइँ हुने अनुमान गरिएको छ र मानिसहरू प्रतिरक्षाका लागि जम्मा भएर बसेका छन्। अझैसम्म थोरै युक्रेनी सहरहरू मात्रै रुसी नियन्त्रणमा पुगेका छन्।