सुन तस्करी गर्न प्रयोग गरिएको घरमा छापा

file

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पास गरेर भित्रिएको एक क्वीन्टल सुन बरामद प्रकरणमा बालुवाटारस्थित एक घरमा सरकारी अधिकारीहरुले छापा मारेका छन् । सुन तस्करीमा संलग्नहरुले सुनसहितको ‘ब्रेक सु’ राख्न भाडामा लिएको घरको बालुवाटारस्थित कोठामा सशस्त्र प्रहरी बलको सहयोग लिएर राजश्व अनुसन्धान विभागको टोलीले छापा मारेको हो ।

त्यसक्रममा कोठामा ५–६ वटा ठूला बाकस फेला परेका छन् । त्यसभित्र भएको वस्तुमा सुन भए÷नभएको यकिन भइसकेको छैन । अहिले ती बाकसलाई शील गरिएको बताइएको छ । विभागले पक्राउ गरेका ट्याक्सी ड्राइभर अशोक लामाले बयानका क्रममा सुन बालुवाटारस्थित उक्त घरमा पुर्‍याउने जिम्मेवारी आफूले पाएको खुलाएका थिए । तर, त्यसमा सुन रहेको आफूलाई थाहा नभएको उनले बताएका छन् ।

लामाको बयानपछि राजश्व अनुसन्धान विभाग र सशस्त्र प्रहरी बलको टोलीले बालुवाटारस्थित उक्त घरमा छापा मारेको हो । त्यसपछि सुन तस्करीमा संलग्न समूहले प्रयोग गरेको उक्त कोठामा शील गरिएको हो । यसअघि पनि विमानस्थलबाट आएको सामान त्यही कोठामा लगेर भण्डारण गरेको पाइएको छ ।