काठमाडौँ, १६ पुस । निजी क्षेत्रका छाता संस्थाहरूले लगानीयोग्य वातावरण सिर्जना गर्न तथा व्यवसायको सुरक्षा प्रत्याभूतिका लागि सरकारले ठोस कदम चाल्नुपर्ने माग गरेका छन् । ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य–सामूहिक पहल’ शीर्षकको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको सुरक्षा सुनिश्चित गरी मनोबल उकास्न सरकारसँग आग्रह गर्नुभयो ।
उनले निजीक्षेत्र संरक्षण तथा प्रवर्द्धन रणनीति तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता औँल्याए । ढकालका अनुसार मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रको संरक्षण र सम्वद्र्धन अनिवार्य छ । शिक्षा र स्वास्थ्य सर्वसुलभ बनाउन, बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता हुँदाहुँदै पनि निजी क्षेत्र लगानीमा अघि नबढ्नु, निजी क्षेत्रबाट प्रवद्र्धित आयोजनामा सुरक्षाको प्रत्याभूति नहुनु र रोजगारीको अवसर अभावमा युवा वैदेशिक रोजगारीतर्फ धकेलिनुपरेको समस्या समाधानका लागि सामूहिक छलफल आवश्यक रहेको उनको भनाइ थियो ।
गत भदौ २३ र २४ का दिन भएको जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रले झेल्नुपरेको प्रत्यक्ष भौतिक क्षति करिब रु ४० अर्ब र अप्रत्यक्ष क्षति रु ८१ अर्ब पुगेको उनले जानकारी दिए । उद्योग क्षेत्रलाई प्राथमिकता क्षेत्र घोषणा गर्नुपर्ने, निजी क्षेत्रको सुरक्षाका लागि ‘हटलाइन’ तथा द्रुत सुरक्षा दस्ता गठन गर्नुपर्ने माग पनि उनले राखे । नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले निजीक्षेत्र स्थायित्व, लगानीको संरक्षण र समृद्धिका लागि सरकारको प्रभावकारी सहयोग अपेक्षित रहेको बताए । सुशासन, पारदर्शिता, नीतिगत स्पष्टता र स्थायित्वले मुलुकको समग्र अर्थतन्त्रलाई फाइदा पुग्ने विश्वास निजीक्षेत्रले लिएको उनको भनाइ थियो ।
प्रधानमन्त्रीले सार्वजनिक तथा निजी संरचनाको पुनर्निर्माणमा निजी क्षेत्रलाई साथ लिएर अघि बढ्नुपर्ने सुझाव पनि उनले राखे । पाण्डेले निजीक्षेत्रले विगतका राजनीतिक उतारचढावबीच पनि रोजगार सिर्जना र राजस्वमार्फत राज्यलाई योगदान दिँदै आएको उल्लेख गर्दै उद्योग–व्यवसायलाई स्थायी क्षेत्रका रूपमा मान्यता नदिइकन शान्ति, विकास र समृद्धि सम्भव नहुने बताए । नीतिगत स्थायित्व, स्वदेशी लगानीको संरक्षण र दीगो आर्थिक नीतिबिना समृद्धिको लक्ष्य पूरा नहुने उनको तर्क थियो ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले शान्ति, स्थायित्व र समृद्धिका लागि न्याय, समानता, संवाद, भरोसा र नीतिको निरन्तरता अनिवार्य भएको बताए । शान्ति केबल द्वन्द्वको अभाव नभई न्याय र अवसरको सुनिश्चितता हो भन्ने उल्लेख गर्दै उनले राजनीतिक तथा नीतिगत स्थायित्वबिना निजी क्षेत्रले जोखिम लिन नसक्ने र युवाले भविष्यप्रति विश्वास नसक्ने उल्लेख गरे । अग्रवालका अनुसार निजी क्षेत्र समृद्धिको इन्जिन हो जसले रोजगारी सिर्जना, करको योगदान, नवप्रवर्तन र उत्पादन वृद्धिमा यसको भूमिका निर्णायक छ ।
तर नेपालमा निजीक्षेत्र आज पनि नीतिगत अस्थिरता, जटिल कानुनी प्रावधान, वित्तीय जोखिम र अविश्वासको वातावरणबाट गुज्रिरहेको उल्लेख गर्दै उनले सरकारले नीतिमा नेतृत्व लिनु, राजनीतिक दलहरूले स्थायित्वप्रति प्रतिबद्ध हुनुपर्ने र निजी क्षेत्रले नयाँ लगानी र रोजगारी सिर्जनामा अग्रसर हुनुपर्ने धारणा राखे । आसन्न निर्वाचन शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न गरिए स्थायित्व बलियो हुने र समृद्धि सम्भव हुने उनको विश्वास थियो ।
कार्यक्रममा नेपाल उद्योग तथा व्यवसायी महासङ्घका अध्यक्ष भागिरथ सापकोटाले मुलुक राजनीतिक रूपमा विभाजित अवस्थामा पुगेको र राजनीतिक दलहरूले अर्थतन्त्रलाई प्राथमिकतामा राख्न नसकेको आरोप लगाए । आन्तरिक उत्पादन वृद्धि, रोजगारी सिर्जना र राजस्वमार्फत राज्यको सहारा निजीक्षेत्र नै भएकाले जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रमाथि आक्रमण गर्नेलाई कारबाही गर्नुपर्ने माग उनले राखे ।