काठमाडौं । नेपाली सेनाका प्यारासुटमा उडेर आकासबाट ग्राउण्डमा झरेका ६ जना सैनिक आज टुडिखेलको निर्धारित स्थानभन्दा बाहिर अवतरण भएका छन् । नेपाली संचारमाध्यमले जनाए अनुसार सेनाको जहाजबाट प्यारासुटसहित झरेका ६ जना सैनिक टुँडिखेल बाहिर ल्यान्ड भएका हुन् । यद्दपी यस दौरान कुनै दुर्घटना भने हुन पाएन ।
नेपाली सेनाका अनुसार अहिले सैनिकले शिवरात्री तथा सेना दिवसको अवसर पारी हुने प्रदर्शनीका लागि रिहर्सल गरिरहेको छ । त्यस क्रममा १४ जना सेनाको जहाजबाट प्यारासुटमा उड्दै ग्राउण्डमा अवतरण हुनुपर्ने थियो । त्यसमध्ये ६ जना प्यारासुट टुँडिखेलको निर्धारित स्थानभन्दा बाहिर अवतरण भए ।
वायुमण्डलमा हावाको गति नमिलेकाले उनीहरू निर्धारित ठाउँभन्दा बाहिर ल्यान्ड भएको बताइएको छ । टुडिखेलबाट बाहिर ल्याण्ड भएपनि सबैको स्थास्थ्य अवस्था राम्रो भएको सेनाले जनाएको छ । शिवरात्रीका अवसरमा टुडिखेलमा सेनाले विशेष प्रदर्शनी गर्दै आएको छ । यस वर्ष आगामी बिहिबार शिवरात्री परेको छ ।