काठमाडौं । नेपाली सेनाले एक साथ चार हजार भन्दा बढी कर्मचारीको भर्ना गर्न आवेदन खुलाएको छ । सेनाको भर्ना छनौट निर्देशनालयले ठूलो संख्यामा सैन्य पदमा आवेदन माग गरेको हो । खुला तथा समावेशी प्रतिस्पर्धाबाट चार हजार जना माग भएको सेनाको सूचनामा उल्लेख छ । बिहीबारको गोरखापत्रमा सेनाले सूचना निकालेको छ । सेनाले चार हजारमध्ये खुलातर्फ दुई हजार ९८ जना माग गर्दै दरखास्त माग गरेको छ ।
बिहीबारबाट वैशाख १६ गतेसम्म दरखास्त दिन सकिने भएको छ । देशका विभिन्न भर्ना केन्द्रबाट दरखास्त दिन सकिने व्यवस्था मिलाइएको छ। फारम बुझाउँदा १५० दस्तुर तोकिएको छ । ८ कक्षा पास गरेकाले पनि दरखास्त दिन सक्नेछन् । पुरूषका लागि उचाइ न्युनतम ५ फिट ३ इन्च र महिलाका लागि न्युनतम ५ फिट तोकिएको छ । १८ वर्ष पूरा भई २२ वर्ष ननाघेकोले दरखास्त दिन पाउनेछन्। परीक्षा जेठ ५ मा तोकिएको छ ।