काठमाडौं । सोलुखोला दूधकोसी जलविद्युत आयोजनामा दुई इञ्जिनीयरको मृत्यु भएको घटनाबारे छानविन गर्न समिति गठन भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले छानबिन समिति गठन गरेको हो । मन्त्रालयले दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन मंगलबार सहसचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा एक छानबिन समिति गठन गरेकोहो ।
गत आइतबार अपराह्न जडान गरिएको पेनस्टक पाइप परीक्षणका क्रममा भएको दुर्घटनामा इञ्जिनीयरद्वय अर्जुन थापा र सुवासराज रेग्मीको मृत्यु भएको थियो । मन्त्रालयले उहाँहरूको निधनमा गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जलि तथा मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेको छ । उक्त दुर्घटनामा परेका घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ ।