काठमाडौं । स्थानीय तहको निर्वाचन जेठ भित्रै गर्न सत्तारुढ गठबन्धनमा रहेका दल सहमत भएका छन् । शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले जेठभित्रमा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको छ । गठबन्धनको निर्णयपछि अब सरकारले निर्वाचन आयोगसँगको परामर्शमा स्थानीय तहको निर्वाचनको मिति तोक्ने भएको छ ।
बैठकले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गर्ने पनि निर्णय गरेको छ । ऐनमा रहेको स्थानीय तहको जनप्रतिनिधिको कार्यकालसम्बन्धी व्यवस्था नेपालको संविधानसँग बाझिएको भन्दै त्यसलाई संविधानसम्मत हुने गरी संशोधन गर्ने सहमति समेत दलहरुबीच भएको छ । सरकारले तोकिएको समयमा स्थानीय तहको निर्वाचन नगर्ने आशंकका बीच स्थानीय तहको निर्वाचनका लागि माहोल तयार बनेको हो ।