स्थानीय तह निर्वाचनका लागि आज सबै मतपत्र जिल्लामा पठाइने

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि छापिएका सबै मतपत्र ढुवानीको काम शुक्रबार सम्पन्न हुने भएको छ । निर्वाचन आयोगका अनुसार आवश्यक सम्पूर्ण मतपत्र छपाइको काम पुरा भइसकेको छ । मतपत्र शुक्रबारसम्म सबै जिल्लामा पुग्ने भएको हो । आयोगका अनुसार हरियो रंगको मतपत्रमा चुनाव चिह्न कालो रंगका छन् । मतपत्रमा सबैभन्दा माथि राष्ट्रिय पार्टीका चुनाव चिह्न राखिएको छ ।

त्यसपछि जिल्लामा क्रियाशील राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारका चुनाव चिह्नहरु छन् । ७५३ पालिकाका जनप्रतिनिधि चुन्न यही वैशाख ३० गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान हुँदैछ । आयोगले मतदान कार्यमा खटिएका सम्पूर्ण कर्मचारीहरुलाई अनिवार्य रुपमा आफू खटिएका ठाउँमा अबिलम्व जान र आफूलाई तोकिएको जिम्मेवारी पूरा गर्न निर्देशन दिएको छ ।