स्थानीय तह निर्वाचनमा ९ जना बने ‘विशेष पर्यवेक्षक’

काठमाडौं । निर्वाचन आयोगले राज्यको महत्वपूर्ण पदमा बसेर अवकाश पाएका ९ जना व्यक्तिहरुलाई ‘विशेष पर्यवेक्षक’ बनाएको छ । देशभर करिव ५ हजार राष्ट्रिय पर्यवेक्षक स्थानीय तह निर्वाचनको पर्यवेक्षणमा खटिने छन् । त्यसमध्ये ९ जनाले ‘विशेष पर्यवेक्षक’को मान्यता पाएका हुन् ।

निर्वाचन आयोगले पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ र सुशीला कार्की, पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल र निलकण्ठ उप्रेती, पूर्वगभर्नर हिमालय शमशेर जबरा, पूर्व निर्वाचन आयुक्त इला शर्मा, मानव अधिकार आयोगका पूर्व सदस्य सुशील प्याकुरेल, पूर्वसचिव एवं लोकसेवा आयोगका पूर्व अध्यक्ष तीर्थमान शाक्य र पूर्वसचिव उदय नेपालीलाई विशेष पर्यवेक्षकको मान्यता दिएको जनाएको छ ।

निर्वाचनसम्बन्धी विषयमा विशेष अनुभव भएका पूर्व विशिष्ठ पदाधिकारीले यस्तो मान्यता पाएका हुन् । विशेष पर्यवेक्षकको भूमिका पाएकाहरुमध्ये अधिकांश आमनिर्वाचन पर्यवेक्षक समिति (जियोक) मा आवद्ध छन् । विभिन्न १० वटा संस्थाहरु मिलेर निर्वाचन अनुगमनका लागि जियोक नामक सञ्जाल स्थापना गरेका थिए ।