स्याङ्जा पहिरोमा ज्यान गुमाएका ९ जनाको सामुहिक दाहसंस्कार

स्याङ्जा । स्याङ्जा पहिरोमा ज्यान गुमाएका ९ जनाको बिहीबार सामुहिक दाहसंस्कार गरिएको छ । उनीहरुको रामनदी धाम (राम्दी) मा बिहीबार साँझ सामूहिक दाहसंस्कार भएको नेपाल दलित सङ्घ स्याङ्जाले जनाएको छ । रामनदी धाम स्याङ्जा र पाल्पाको संगमस्थल हो । यो कालीगण्डकी नदीमा पर्छ ।

नौ जनालाई आठ वटा छुट्टाछुट्टै चिता बनाएर दाहसंस्कार गरिएको छ । ६ महिने बालक र उनकी १९ वर्षीया आमा बिनिता नेपालीको भने एउटै चितामा दाहसंस्कार गरिएको छ ।

सबैजना एकैघरका भएको र दागबत्ती दिने परिवार भित्रैको समेत कोही सदस्य नभएपछि फन्त जीबलाल परियारले दागबत्ती दिएका थिए । प्रहरीका अनुसार सबैको पोस्टमार्टमपछि दासंस्कार गरिएको हो ।

दासंस्कारको खर्चको जिम्मा भने वालिङ नगरपालिकाले लिएको छ । गाउँलेहरु छिमेकीको सामुहिक दाहसंस्कारका लागि घाटमा पुगेका थिए । एकै स्थानमा भएको ठूलो मानवीय क्षतिले गाउँ शोकाकुल बनेको छ ।

पहिरोबाट एक जनाको भने जिवितै उद्धार गरिएको थियो । १६ वर्षीया मनिषा नेपालीको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार जारी छ । मनिषाको सम्पूर्ण उपचार खर्च समेत नगरपालिकाले बेहोर्ने भएको छ ।