स्याङ्जा पहिरो : एकै परिवारका ८ सहित ९ को मृत्यु

स्याङ्जा । स्याङ्जामा पहिरोले घर भत्काउँदा मृत्यु हुनेको संख्या ९ पुगेको छ । यसमा ८ जना एकै परिवारका सदस्य रहेका छन् । जिल्लाको वालिङ नगरपालिका वडा नम्बर १४ मा पहिरोले घर पुरिएको थियो । आज दिनभरको उद्धारका क्रममा ९ जनाकै शव निकालिएको छ । प्रहरीका अनुसार एक जनाको जिवितै उद्धार भएको छ ।

बिहीबार बिहान माया नेपालीको घरमा पहिरो खस्दा उनीसहित ९ जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार पहिरोमा परेर सानु नेपाली, माया नेपाली, मायाका छोराहरु दीपक, कुलदीप र विवश, बुहारी बिनिता तथा नाति शिशिर र पाहुना आएकी उमाकला नेपालीको मृत्यु भएको छ ।


उनीहरु सबै जनाको शव पुरिएको घरबाट निकालिएको प्रहरीले जनाएको छ । दुर्घटनामा एक जनालाई भने जिवितै उद्धार गर्न सफल भएको छ । प्रहरीका अनुसार १७ वर्षिया मनिषा नेपालीको उद्धार भएको छ । उनी घाइते छिन् । उनको पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।