काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतबाट आज स्वदेश फर्किएका छन् । पत्नी सीताको उपचारका लागि उनी पुस २० मा भारतको राजधानी नयाँदिल्ली हुँदै मुम्बई पुगेका थिए । उनको सचिवालयका अनुसार प्रचण्ड आज नेपाल आएका हुन् । यद्दपी पत्नी सीताको उपचार भने जारी रहेको छ ।
अध्यक्ष दाहाललाई विमानस्थलमा वर्षमान पुनसहितका नेताले स्वागत गरेका छन् । पत्नी सीताको उपचारका क्रममा हेरचाहका लागि छोरीहरु गङ्गा र रेणु दाहाल खटाएर दाहाल स्वदेश फर्किएका हुन् ।
मुलुकभित्र तातेको राजनीतिक माहौलमा प्रचण्डको अनुपस्थितिमा उक्त समुहको सक्रियता कमजोर बनेको थियो । एकातर्फ पारिवारिक चिन्ता र अर्कोतर्फ पार्टीमा देखिएको कलहले प्रचण्ड दोहोरो तनावमा छन् । त्यसो त प्रचण्डले पछिल्लो एक दशकयता त्यस्तै परिस्थितिको सामना गर्दै आइरहेका छन् ।