काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको रकम ५ लाख पुर्याउने प्रस्ताव गरेका छन् । स्वास्थ्य क्षेत्रमा सुधारका योजना प्रस्तुत गर्दै उनले यस्तो प्रस्ताव गरेका हुन् । स्वास्थ्य बीमामा सबै नागरिक नसमेटिएका, उपचार लिन जाँदा सास्ती ब्यहोर्नुपरेको बताए ।
मन्त्री पौडेलले स्वास्थ्य बीमालाई परिमार्जन गर्ने बताए । अहिले स्वास्थ्य बीमा मार्फत बीमितले १ लाख रुपैयाँसम्मको उपचार सुविधा पाउँछन् । यसलाई बढाएर ५ लाख पुर्याउने योजना मन्त्री पौडेलले सुनाए । स्वास्थ्य बीमामा आवद्धता बढाउन औपचारिक र अनौपचारिक क्षेत्रलाई समेत अनिवार्य गर्ने तयारी रहेको उनले बताए ।
बीमा प्रभावकारी ढंगबाट सञ्चालन गर्न ४० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको बताए । मन्त्री पौडेलका अनुसार स्वास्थ्य करकोष थप गर्ने, चिनीजन्य पदार्थमा प्रयोग हुने खाद्य तथा पेय पदार्थमा अनिवार्य कर लगाउने, विभिन्न संगठित संस्थाका उपचार कोषलाई स्वास्थ्य बीमा कोषसँग आवद्ध गरिने उनले बताए । आकस्मिक बाहेक निःशुल्क उपचारका सबै कार्यक्रमलाई बीमामा आबद्ध गरी निःशुल्क उपचारका लागि स्वास्थ्य संस्थालाई उपलब्ध गराउने अनुदान बीमा मार्फत दिने योजना उनले सुनाए ।
काठमाडौमा स्नायु रोग उपचार केन्द्र स्थापना गरिने उनले बताए । शहीद गंगाल राष्ट्रिय हृदय केन्द्रलाई ५०० शय्याको विस्तार गर्ने, कान्ति बाल अस्पतालको पूर्वाधार थप गर्दै तत्कालै आईसीयू सेवा पूर्ण रुपमा सञ्चालन गर्ने बताए । त्यस्तैगरी जनशक्तिको नियमित पुनरावलोकन गर्ने र खाली रहेका दरबन्दीमा पदपूर्तिको व्यवस्था मिलाउने मन्त्री पौडेलले बताए । छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई ग्रामीण भेगमा पठाउने योजना पनि उनले सुनाए ।