स्व.गिरिजा प्र. कोईरालाको शताब्दिऔं जन्मजयन्तिको अवसरमा खाद्यान बितरण

बिष्णु सिंह (बैजु) ३ जुलाई,
ज्याक्सनहाईट्स न्युयोर्क।

नेपाली कांग्रेसका पुर्व सभापति एवं पुर्व प्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोईरालाको शताब्दीऔं जन्मजयन्तीको पावन अवसरमा गिरीजाप्रसाद कोईराला फाउन्डेशनले न्युयोर्कको क्विन्सस्थित ज्याक्सनहाईट्समा निःशुल्क खाद्यान बितरण कार्यक्रम आयोजना गरेको छ ।

गिरीजाप्रसाद कोईराला फाउन्डेशन अमेरिका च्याप्टरको आयोजनामा क्विन्स टुगेदर, टेष्टअफ नेपाल रेष्टुरेन्ट, भेराईटी व्वाईज एण्ड गर्लस् क्लब अफ क्वीन्स् र मेट्रोपोलीटान पार्क नामक संस्थाहरुको संयुक्त सहप्रायोजनमा सो कार्यक्रम सम्पन्न भएको हो। स्थानीय समय अनुसार मध्याह्न करिब १२ः३० बाट करिव १ घन्टासम्म टेष्ट अफ नेपाल रेष्टुरेन्टको प्रांगणबाट सो वितरण कार्यक्रम गरिएको थियो।

लाममा पंक्तिबद्ध करीब २०० स्थानीय आगन्तुकहरूलाई पालैपालो ताजा सागसब्जी एवं तरकारी बितरण गरिएको थियो। सो वितरणबाट स्थानीय नेपाली अमेरीकी लगायत,बंगलादेश, भारत, पाकिस्तान, मेक्सीको सहित करीब १४ राष्ट्रवाट आई स्थानीय समुदायमा वसोवास गर्ने मानिसहरू प्रत्यक्ष लाभान्वित भएका थिए।

सो वितरण कार्यक्रममा फाउन्डेशन अमेरिका च्याप्टरका उपाध्यक्ष सुवर्ण लामा, प्रवक्ता रामचन्द्र अधिकारी, कार्यसमिति सदस्यहरू सुर्य सिंखडा र रेखा श्रेष्ठको सकृयता रहेको थियो भने क्विन्स टुगेदरका प्रमुख जोनाथन फोर्गोस्, न्युयोर्क मेयर अफिसबाट शुक्रानि दनपत, फाउन्डेशनकै केन्द्रीय सदस्य अम्बीरराज जोशी, नेका युवा नेताद्वय राजु रौनीयार र समाजसेवी लायन नवराज आचार्य र नेतृ कमला पन्त, पार्कर खेलाडी दिनेश सुनार, फाउन्डेशनका आजीबन सदस्य पुर्ण तामाङ लगायतले स्वयंसेवकको भुमीका निर्वाह गरेका थिए ।

स्मरण रहोस् स्व. गिरीजावावुको शताब्दीऔं जन्मजयन्तिको पावन अवसरमा नेपाल, अमेरिका लगायत विश्वभरबाट स्मरण स्वरूप यी र यस्तै पुण्य कार्यहरू निरन्तर भैरहेका समाचारहरू प्राप्त भएका छन्। यसै अवसरमा फाउन्डेशन अमेरीका च्याप्टर एवं आजको यस कार्यक्रमसँग आबद्ध संघसंस्थाहरूले स्व. कोईरालाप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गरेका थिए ।