हङकङले रोक्यो नेपालसँगको हवाई उडान

File Photo

हङकङ । काठमाडौंबाट हङकङका लागि हुने हवाई उडान रोकिएको छ । कोरोना भाइरसको बढ्दो संक्रमणका बीच हङकङले नेपालसँगको हवाई उडान रोक्ने निर्णय गरेको हो । संचारमाध्यमहरुका अनुसार शनिबारदेखि लागू हुने गरि नेपालसँगका सबै हवाइ उडान रोक्ने निर्णय त्यहाँको सरकारले गरेको छ । नेपालमा कोरोनाभाइरसको संक्रमण तिब्र छ । तर, हङकङमा भने विदेशबाट आएका मानिसहरुमा मात्र कोरोना देखिएको छ ।

भारत र नेपालबाट गएका नागरिकमा कोरोना देखिएपछि हङकङले उडान रोक्ने निर्णय गरेको हो । अर्को सूचना जारी नभएसम्म काठमाडौंबाट हुने उडान रोकिएको हो । हङकङले नेपाललाई उच्च जोखिमपूर्ण मुलुकमा राखेको छ । हङकङले भारत, पाकिस्तान र फिलिपिन्सका समेत सबै उडान रोकिसकेको छ ।