काठमाडौं । हङकङसहित ९ मुलुकबाट आउने यात्रुलाई नेपाल सरकारले प्रतिवन्ध लगाएको छ । सरकारले दक्षिण अफ्रिका, हङकङसहित ९ देशबाट आउने नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद बैठकले दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इसबाटिनी, मोजाम्बिक, मलावी र हकङकबाट आउने यात्रु, ती देशलाई ट्रान्जिट बनाएर आउने र तीन हप्ताभित्र ती मुलुकको भ्रमण गरी आउनेहरुलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।
यो निर्णय शुक्रबारबाटै कार्यान्वयनमा आएको छ । तर, अहिले ती मुलुकबाट नेपालतर्फ आउँदै गर्दा बाटोमा रहेका यात्रुले भने अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने भएको छ ।
ती देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएकाले नेपाल प्रवेशमा कडाइ गरिएको हो । संक्रमणको जोखिम भएका मुलुकबाट आउने यात्रुलाई अन अराइभल भिसा समेत नदिने निर्णय भएको छ । यसअघि सरकारले अफ्रिकी मुलुकका नागरिकलाई मात्र नेपाल आउन रोक लगाएको थियो ।