हट्यो वस्तु आयातमा लागेको प्रतिवन्ध

काठमाडौं । सरकारले विलासिताका वस्तु आयातमा लगाएको प्रतिवन्ध हटाएको छ । यससँगै गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्ध फुकुवा भएको हो । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी २९ मंसिरदेखि लागु हुनेगरी प्रतिबन्ध हटाउने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले ४ प्रकारका विलासी वस्तु आयातमा कायम प्रतिबन्ध २९ मंसिर पछि नलम्ब्याउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सैद्धान्तिक सहमति दिने निर्णय गरेको सञ्चारमाध्यमले जनाएका छन् ।

आयात प्रतिबन्ध हटाउन यसअघि नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सुझाव दिएको थियो । केही दिनअघि मन्त्रालयले आयात प्रतिबन्ध हटाउने प्रस्ताव मन्त्रिपरिषद्‍मा पेश गरेसँगै प्रतिवन्ध हट्ने भएको हो । मन्त्रिपरिषद्को निर्णय राजपत्रमा प्रकाशित भएपछि आयात प्रतिबन्ध फुकुवा हुनेछ ।

सरकारको ढुकुटीमा विदेशी विनिमय सञ्चिति कम हुँदै गएपछि वाणिज्य मन्त्रालयले गत १३ वैशाखदेखि १० प्रकारका विलासी वस्तुमा आयात प्रतिबन्ध लगाएको थियो । सरकारले प्रतिबन्ध थप परिस्कृत गर्दै ६ प्रकारका वस्तुहरुको प्रतिबन्ध हटाएर ५० हजार डलर भन्दा माथिका गाडी, ३ सय डलर भन्दा महँगो मोबाइल, सबै प्रकारका विदेशी मदिरा र १५० सीसी भन्दा माथिका मोटरसाइकल आयात प्रतिबन्ध २९ मंसिरसम्म लम्ब्याइएको थियो ।