काठमाडौं । हमासले युद्धबिरामका दौरान भएको समझदारी अनुसार छाड्ने बन्दकको दोस्रो सूची सार्वजनिक गरेको छ । दोस्रो सूचिमा चार महिला सैनिकको नाम समावेश छ । उनीहरु इजरायली सैनिक करीना एरिएव, डेनिएला गिल्बोओ, लेवी र लिरी हल्बाग छन् । यी चार सैनिकलाई हमासले आफ्ना १८० कैदीको बदलामा छाड्न लागेको बताइएको छ । गत आइतबारबाट लागु भएको युद्धबिराममा दोस्रो पटक कैदीहरु छाड्ने गरी सम्झौता कार्यान्वयन हुन लागेको सञ्चारमाध्यमले जनाएका छन् ।
पहिलो चरणमा ९० प्यालेस्टाइन कैदीको बदलामा तीन बन्धकलाई रिहा गरिएको थियो । ७ अक्टोवर २०२३ मा हमासले इजरायलमा आक्रमण गरेको थियो । त्यसबेला १२ सय मानिसको मृत्यु भएको थियो । हमासले २५१ जनालाई बन्धक बनाएको थियो । बदलामा गरिएको आक्रमणमा अहिलेसम्म ४७ हजार प्लालेस्टिनीको ज्यान गइसकेको छ ।