काठमाडौं । शनिबारदेखि सुरु भएको हमास–इजरायल युद्धको असर कच्चा तेलको मूल्यमा देखिएको छ । सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ ४ प्रतिशतसम्मले बढेको छ ।
आयल प्राइस डटकमका अनुसार सोमबार विश्व बजारमा कच्चा तेलको भाउ २ देखि ४ प्रतिशतसम्म बढेको छ । सोमबार विश्व बेन्चमार्क ब्रेन्ट क्रुड आयलको भाउ ३.३३ प्रतिशतले बढेर प्रतिब्यारेल ८७.४० डलर पुगेको छ ।
त्यस्तै, ओपेक बेन्चमार्क डब्ल्यूटीआइ क्रुड आयलको भाउ ३.६१ प्रतिशतले बढेर प्रतिब्यारेल ८७.४० डलर पुगेको छ । यसैगरी, मुर्बान क्रुड आयलको भाउ ३.८९ प्रतिशतले बढेर प्रतिब्यारेल ८९.४७ डलर पुगेको छ भने अन्य अधिकांश क्रुडआयको भाउ पनि बढेको छ ।
हमास इजरायल युद्ध लम्बिए कच्चा तेल उत्पादन र ढुवानीमा समेत असर पर्ने सक्ने भएकाले भाउ ह्वात्तै बढेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले बताएका छन् । इजरायलले हमास विरुद्ध युद्धको घोषणा गरेको छ । जसले गर्दा तत्कालै यो युद्ध मत्थर हुने देखिँदैन ।
युद्धका कारण विश्वमा तेल निर्यात हुने प्रमुख मार्ग ‘स्ट्रेट अफ हर्मुच’ प्रभावित भए त्यसले थप संकट निम्त्याउने जानकारहरुले बताएका छन् ।
सन् २०२२ को फेब्रुअरीमा रसिया–युक्रेन युद्ध सुरु भएसँगै विश्व बजारमा कच्चा तेलको भाउ प्रतिब्यारेल १३९ डलरसम्म पुगेको थियो । त्यसको केही महिनापछि विस्तारै ओरालो लागेको तेलको भाउ प्रतिब्यारेल ७२ डलरसम्म झरेको थियो भने अप्रिलदेखि फेरि उकालो लागिरहेको छ ।