काठमाडौं । निषेधाज्ञाको समयमा पनि त्रिभुवन विमानस्थलमा हवाई यात्रा भने यथावत रहेको छ । विमानस्थलमा अधिक भिडभाड हुँदा संक्रमणको डर हुने परिस्थितिमा यात्रुको व्यवस्थापनमा सहजिकरण गर्न वायुसेवा संचालकहरुले अनुगमन समिति बनाएका छन् ।
वायुसेवा संचालक संघ (आयोन)का कार्यकारी निर्देशकको संयोजकत्वमा बुद्ध एयर, यति एयरलाइन्स, समिट एयर, श्री एयरलाइन्स र सौर्य एयरलाइन्सका प्रतिनिधि रहेको अनुगमन कमिटी बनाएर आजैबाट काम थालिएको आयोनका प्रवक्ता योगराज कँडेलले जानकारी दिए ।
बिहीबार विमानस्थलमा सीसीएमसीको अनुगमन कमिटीले अनुगमन गरेको थियो । आजै काठमाडौंका प्रमुख जिल्ला अधिकारीको समेत स्थलगत अनुगमन भएको थियो ।
यी दुई अनुगमनपछि यात्रुलाई अझ बढी व्यवस्थापनसहित सेवा दिन निर्देशन प्राप्त भएको आयोनले जनाएको छ । विमानस्थलमा नेपाल नागरिक उड्डयन प्राधिकरणको गाइडलाइन्सअनुसार तयार भएको स्वास्थ्य प्रोटोकल अनुसार सेवा दिइएको छ ।