हाल्यान्डको कीर्तिमानमा म्यान सिटीले म्यूनिखलाई हरायो

काठमाडौं । युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटी विजयी भएको छ । सिटीले जर्मन क्लब बार्यन म्युनिखलाई ३–० गोलले हरायो । मंगलबार राति भएको खेलमा सिटीले घरेलु मैदानमा सहज जित हात पारेको हो। सिटीका लागि रोद्रीले २७ मिनेटमा पहिलो गोल गरे। उनले बेर्नान्डो सिल्भाको पासमा गोल गरेका थिए। सिल्भाले नै ७० मिनेटमा सिटीको अग्रता दोब्बर पारे। उनलाई हाल्यान्डले पास दिए।

हाल्यान्डले ७६ मिनेटमा सिटीका लागि तेस्रो गोल गरे। यसपटक स्टोन्सले पास उपलब्ध गराए। हालान्डले गोल गरेसँगै प्रिमियर लिगका खेलाडीको सबै प्रतियोगितामा एकै सिजनमा सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाए। उनको सिजनको यो ४५औं गोल हो। प्रिमियर लिगका खेलाडीका लागि एकल सिजनको कीर्तिमान यसअघि मोहमद सलाह र रुड भान निस्टेलरोयको नामको थियो।

पहिलो लेगमा ३–० गोलको जित हात पारेसँगै सिटीले सेमिफाइनलको सम्भावना बलियो बनाएको छ। लिगको अर्को खेलमा इटालियन क्लब इन्टर मिलानले पोर्चुगिज क्लब बेन्फिकालाई २–० गोलले हराएको छ ।