हिमाल चढ्न अनुमति लिने बढ्दै, कुन हिमालमा कति ?

काठमाडौं । हिमाल चढ्न अनुमति लिने विदेशी तथा स्वदेशी आरोहीको संख्या निरन्तर बढ्दैछ । मंगलबारसम्म सगरमाथा आरोहणका लागि मात्र यो सिजनमा १६ समूहका १३८ जनाले अनुमति लिएको पर्यटन विभागको तथ्यांकले देखाएको छ । पर्यटन विभागका अनुसार मंगलबारसम्म ३३ महिला र १०५ जना पुरुष गरी १३८ जनाले सगरमाथाका लागि अनुमति लिएका हुन् । यी आरोही विभिन्न १६ वटा समूहमा सगरमाथामा जाने भएका छन् ।

सगरमाथा चढ्ने आरोहीबाट मात्र सरकारले १७ करोड १९ लाख ६४ हजार ८५० रुपैयाँ रोयल्टी उठाएको छ । सगरमाथापछि अमादब्लम हिमालका लागि बढी आरोहीले अनुमति लिएका छन् । तथ्यांक अनुसार मंगलबारसम्म सो हिमालका लागि ३९ जनाले अनुमति लिएका छन् । जसमा ७ जना महिला छन् । तथ्यांक अनुसार मंगलबारसम्म कुल १५ वटा हिमालका लागि आरोहण अनुमति जारी भइसकेको छ । यसमा ६ हजार मिटर भन्दा अग्ला हिमालहरु रहेका छन् ।

विभागका अनुसार ल्होत्सेका लागि ३३, अन्नपूर्ण प्रथमका लागि २६, नुप्त्सेका लागि २३, द्यौ धौलागिरिका लागि २१ र मकालुका लागि १५ जनाले अनुमति लिएका छन् । ती हिमालमा कुल ३ सय ६६ जना आरोहीले अनुमति लिएका छन् । जसमा ८५ जना महिला रहेका छन् । पुरुषको संख्या २८१ रहेको छ ।