हेइटीका राष्ट्रपतिको निवासमै गोली हानी हत्या

Andrés Martínez Casares/Reuters

काठमाडौं । हेइटीका राष्ट्रपति जोभनेल मोइजको निजी निवासमै गोली प्रहार गरि हत्या भएको छ । देशका अन्तरिम प्रधानमन्त्रीद्वारा विज्ञप्ती जारी गरि यसको पुष्टी गरेको बीबीसीले जनाएको छ । पोर्ट अ प्रिन्सस्थित राष्ट्रपतिको निवासमा स्थानीय समय अनुसार बिहान १ बजे अज्ञात हतियारधारीहरूले आक्रमण गरेको अन्तरिम प्रधानमन्त्री क्लोड जोजेफले बताएका छन्। आक्रमणमा प्रथम महिला घाइते भएको विवरणमा जनाइएको छ।

अन्तरिम प्रधानमन्त्री जोजेफले राज्यको निरन्तरताका लागि आवश्यक सबै उपायहरू अपनाइएको बताएका छन्। आफ्ना पूर्ववर्ती राष्ट्रपतिले राजीनामा दिएपछि ५३ वर्षीय जोभनेल मोइजले सन् २०१७ को फेब्रअरी महिनादेखि सत्ता सम्हालेका थिए।


भ्रष्टाचारका अभियोगहरूका माझ मोइजको कार्यकाल सहज थिएन र उनले सरकार विरोधी हिंसात्मक विरोध प्रदर्शनहरूका लहरको सामना गर्नु परिरहेको समाचारमा जनाइएको छ । यसै वर्ष केही अघि राजधानी र देशका अन्य शहरहरूमा पनि मानिसहरूले उनको राजीनामाको माग गर्दै व्यापक विरोध प्रदर्शन भएका थिए ।

हेइटीको राजनीतिक विपक्षीको भनाइमा राष्ट्रपति मोइजको पाँच वर्षे कार्यकाल ७ फेब्रअरी २०२१ मा नै समाप्त भइसकेको हो, जुन उनका पूर्ववर्ती मिशेल मार्टेलीले पद त्याग गरेको मिति देखि ठिक पाँच वर्ष पुगेको दिन हो।तर मोइजले आफूले सोही मितिदेखि नै सत्तारोहण नगरेकाले आफ्नो कार्यकाल अझै एक वर्ष बाँकी रहेको बताउँदै आएका थिए ।