बागलुङ । होली खेल्ने क्रममा बागलुङमा हिंसात्मक झडप भएको छ । युवाहरुको दुई समुहबीच भएको झडपमा दुई जनाको मृत्यु भएको पुष्टी प्रहरीले गरेको छ । अझै १० जना हराएका कारण हताहती बढ्न सक्ने आंशका गरिएको छ ।
जिल्लाको बडिगाड गाउँपालिका १० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा युवाबीच झडप भएको नेपालको राष्ट्रिय समाचार समितिले जनाएको छ । दर्लिङको बल्देधुरीमा दुई युवा समूहबीच झडप भएको वडा नं. ९ का अध्यक्ष कृष्णबहादुर खत्रीले बताएका छन् ।
गुल्मी, बागलुङ र प्युठानको सिमाना बल्देधुरीमा होली मनाउन गएका युवाबीच झडप हुँदा दुईको मृत्यु भएको र केही युवा घाइते भएको हुनसक्ने उनले बताए । मृत्यु हुनेमा वर्ष ३६ का प्रकाश कुँवर र ३४ वर्षका दीपक दमाइ रहेका छन् ।
उनीहरुको शव बल्देधुरी भीरबाट ५०० मिटर तल खसेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । घटनास्थल मानव बस्तीभन्दा केही टाढा रहेको र त्यहाँ प्रहरी तथा जनप्रतिनिधि पुग्न समय लागेकाले घटनाको विवरण आउन समय लागेको हो ।
आइतबार दिउँसो बडिगाड१० बल्देधुरीमा तीन जिल्लाका करिब ६०० जना उपस्थित भएका थिए । स्थानीयवासीका अनुसार झडपपछि बागलुङकै निसीखोला गाउँपालिका७ र बडिगाड १० का केही युवा बेपत्ता भएको आशङ्का छ ।