१० खेलाडीमा सिमित बार्सिलोनाको लगातार दोस्रो जीत

काठमाडौं । स्पेनिस ला लिगामा बार्सिलोनाले लगातार दोस्रो जित हात पारेको छ । बार्सिलोनाले सेल्टा डि भिगोमाथि ३–० को सहज जित हात पारेको हो । बार्सिलोना ४२औं मिनेटमा १० खेलाडीमा सिमित भएको थियो । डेनिस सुआरेजमाथि फल गरेपछि डिफेन्डर क्लेमेन्ट लेङ्लेट दोहोरो पहेँलो कार्ड बेहोर्दै मैदान छाड्न बाध्य भएका थिए ।

बार्सिलोनाले सेल्टालाई उसकै मैदानमा ३–० ले हराएको हो । यो जीतलाई महत्वपूर्ण मानिएको छ । किनकी सेल्टा लालीगामा तुलनात्मक रुपमा बलियो टोली मानिन्छ । शुक्रबार बिहान सम्पन्न खेलमा बार्सिलोनका लागि युवा स्टार अन्सु फाती र सर्जियो रोबर्टोले गोल गरे ।

एक गोल भने आत्मघाती थियो । ११औं मिनेटमा अन्सु फातीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । उनले फिलिपे कौटिन्होको पासमा गोल गरेका हुन् । ५१औं मिनेटमा लुकास ओलाजाले आत्मघाती गोल गरे ।

पेनाल्टी बक्सभित्रबाट कप्तान लियोनेल मेस्सीले गरेको प्रहार लुकास ओलाजासँग डिफ्लेक्ट भएर गोलपोष्ट छिरेको थियो । ५९औं मिनेटमा मेस्सीले गोल गरे पनि मान्यता पाएन । इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा मेसीको पासमा सर्जी रोबर्टोले गोल गरे । जितपछि बार्सिलोनाको दुई खेलबाट ६ अंक भएको छ ।